पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

अर्थबिट २०७९-०८-०८ १६:२६:०० बजे

काठमाण्डौ।चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रु पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा रु ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु सात  खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट रु तीन खर्ब २२ अर्ब १८ करोड बराबरको आयात गरेको छ भने रु ३८ अर्ब ६० करोड बराबरको मात्रै निर्यात गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।