काठमाण्डौ।नेपालमा अमेरिकी नागरिक किटिया पाओलोस्कीले खिचेको भनिएको हिम चितुवाको फोटो नक्कली भएको खुलेको छ। गत शुक्रबार फ्रान्सेली म्यागेजिन ‘अल्पाइन म्याग’ ले सो सनसनीपूर्ण खुलासा गरेको हो ।
सो म्यागेजिनले एउटा लेख मार्फत भनेको छ । “पाओलोस्कीले आफैलाई अमेरिकी फोटोग्राफर भन्छिन् तर संसारका कुनै एकजना फोटोग्राफरले पनि उनलाई चिनेको छैन । हिम चितुवाको अति उत्कृष्ट भनिएको फोटो चारवटा अलग अलग फोटो जोडेर बनाइएको छ ।”
म्यागेजिनमा लेख मार्फत सो फोटोको प्रकृति, संयोजन, स्थान, प्रकाश र वास्तविकतामा नै प्रश्न गरिएको छ । विभिन्न विशेषज्ञसँगको परामर्शले पनि सो फोटो नक्कली भएको सिद्ध गरेको छ । लेखमा हिमचितुवाविद् भिन्सेट मुनियरलाई उद्धृत गर्दै भनिएको छ । “ सो चित्रमा जहाँजहाँ हिमचितुवा देखाइएको छ, सो क्षेत्रको भू-बनौट हेर्दा त्यस्ता ठाउँमा हिमचितुवा बस्न संभव नै छैन।"
हिम चितुवाको फोटो कुन मितिका हुन् भनेर यकिन गर्न नसकिएको, असली कच्चा तस्वीर माग्दा पाओलोस्कीले नदिएको लगायतका आरोप लगाइएको छ भने, तस्वीर खिचेको दाबी गर्ने व्यक्तिको इमान्दारिता माथि नै प्रश्न उठाइएको छ।
लेखकले किटिया पाओलोस्की उत्कृष्ट फोटोग्राफर नभएको तर उत्कृष्ट फोटोसप इडिटर भएको आरोप लगाएका छन्। पाओलोस्कीको हिमालयमा क्यामेरा बोकेर हिन्दै गरेको प्रोफाइल पिक्चर नै इडिट गरि बनाइएको नक्कली फोटो भएको पनि खुलेको छ । पाओलोस्कीले आम व्यक्तिलाई मात्र नभै प्रतिष्ठित पत्रपत्रिका र सञ्चार माध्यमलाई समेत मूर्ख बनाउन सकेकोमा लेखकले आश्चर्य व्यक्त गरेका छन् ।