हस्तकला व्यापार मेला मङ्सिर २३ देखि

अर्थबिट २०७९-०८-१० १२:१४:०० बजे

काठमाण्डौ। नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । 

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो ।

अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिनुभयो । मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो । 

उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा  मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।