आर्थिक सङकटका कारण विलासिताका सामानको आयातमा रोक

अर्थबिट २०७९-०८-१२ १३:३२:०० बजे

काठमाण्डौ। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

यद्यपि उहाँले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।

 बैठकपछि बङ्गलादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराउनुभएको थियो । 

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गर्नुभएको थियो । 

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बङ्गलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ ।

 प्रधानमन्त्री हसिनाले गत महिना बङ्गलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सङ्कटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गर्नुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।