कम्बोडियालाई एडिबीको पाँच करोड डलर ऋण

अर्थबिट २०७९-०८-२० ०९:१२:०० बजे

काठमाण्डौ।मनिलास्थित एसियाली विकास ब्याङ्क (एडीबी) ले कम्बोडिया सरकारलाई देशको अर्थतन्त्रलाई विविधीकरण गर्न तथा विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन पाँच करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । 

महामारीपछिको आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न ब्याङ्कले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । कम्बोडियाको आर्थिक पुनरुत्थानमा सघाउन, लगानी तथा व्यापारिक वातावरण वृद्धि गर्न,लघु,मध्यम र साना उद्यमको विकासमा टेवा दिन, व्यापार नीति एवम् व्यापार सहजीकरणमा सुधार गर्न ऋण उपलव्ध गराउने निर्णय भएको ब्याङ्कले एक विज्ञप्ति निकालेर आज जनाएको हो । 

कोरोना महामारीले कम्बोडियाली अर्थतन्त्रका प्रमुख क्षेत्र गार्मेन्ट, जुत्ता, कपडा उत्पादन, पर्यटन र निर्माण क्षेत्रमा गम्भीर असर पारेको एडिबीका वरिष्ठ अर्थशास्त्री सायन एल मोर्टनले बताएका छन् । ऋण सहायताबाट कम्बोडियाको आन्तरिक एवम् बाह्य व्यापार प्रवद्र्धनका निम्ति अनुकूलन वातावरण बनाउन मद्दत पुग्ने,लघु,मध्यम र साना उद्यमको विकास र विविधीकरण, वित्तमा उनीहरूको पहुँच सुधार तथा उत्पादनहरूका निम्ति नयाँ बजारहरू सृजनामा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 

सहुलियतपूर्ण उक्त ऋण सहयोगले कम्बोडियालाई क्षेत्रीय व्यापार सम्झौता कार्यान्वयनमा सुधार तथा औद्योगिक उत्पादन निर्यात गर्न थप अवसर प्रदान गर्नका साथै व्यापार सहजीकरण एवम् समन्वयलाई सहज बनाउन मद्दत गर्ने अपेक्षा ब्याङ्कले गरेको उनले बताएका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।