कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ र जिङ्क वितरण

अर्थबिट २०७९-०८-२५ ०८:५९:०० बजे

बिराटनगर।विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको हो । 

महानगरका प्रमुख नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बीउ र जिङ्क वितरण गर्नुभएको हो । महानगरका प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताउँदै रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गर्नुभयो । उहाँले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । “महानगरपालिकाभित्र जति जमिन छ, त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ ।” 

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीका एक हजार एक सय ७६ जनालाई मकैको बीउ आठ हजार तीन सय ३३ केजी र जिङ्क वितरण गरेको छ । सो बीउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो । तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।