बेलायत–भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

अर्थबिट २०७९-०८-२६ ०७:०२:०० बजे

नयाँदिल्ली।बेलायत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नेछिन् ।

वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलायत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलायत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ । 

वार्ता प्रारम्भ हुनुअघि दुवै देशका प्रतिनिधिलाई मन्त्री बाडेनोचले सम्बोधन गर्ने कार्यक्रम छ । उनले भारतका व्यापारीका आवश्यकताबारे जानकारी लिन भारतीय उद्योगव्यवसायी सङ्घका नेताहरूसँग पनि भेटवार्ता गर्नेछिन् । यसक्रममा ‘फेयरट्रेड पेपर एण्ड प्याकेजिङ’ उत्पादन गर्ने प्लान्ट निर्माण गर्न भारतमा एक करोड पाउण्डभन्दा बढी लगानी गर्ने बेलाइती कम्पनीका पदाधिकारीसँग पनि बैठक हुनेछ । 

यसैबीच, बेलायत उद्योग परिसङ्घका अन्तर्राष्ट्रिय निर्देशक एन्डी बर्वेलले बेलाइत–भारत स्वतन्त्र व्यापार सम्झौता द्विपक्षीय व्यापार प्रवद्र्धन तथा औद्योगिक विकासका निम्ति महत्वपूर्ण हुने बताउँदै त्यसमा नै बेलाइतले जोड दिने बताएका छन् । पारस्परिक व्यापारलाई सन्तुलित एवम् व्यापाक तुल्याउन यथाशीघ्र सम्झौता हुनुपर्ने अभिमत उनले व्यक्त गरेका छन् । साथै उनले बेलाइतका कम्पनीहरू भारतमा लगानी गर्न उत्सुक रहेका बताएका छन् । 

तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलायतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर  उहाँहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।