काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग भेटगरी संघीय संरचना अनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।
हालसम्म पुरानै संरचना अनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधी अनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यवहारिक हुन नसकेको भन्दै महासंघले यथाशीघ्र प्रादेशिक रुपमा सुन बाँडफाँटको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
त्यसक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले महासंघले राखेको मागलाई आफूले गम्भीर रुपमा लिएको र यस विषयमा सम्वन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताए । त्यसक्रममा उनले एउटा बैंकको खाताबाट सबै बैंकमार्फत कारोबार हुने सक्ने व्यवस्था मिलाउन र कार्यविधिमा तोकिएका नाकाहरुबाट सहज रुपमा सुन उपलब्ध हुने व्यववस्था मिलाउन ब्यवसायीले गरेको आग्रह अनुरुप त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिए ।
भेटका क्रममा ब्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्न समेत आग्रह गरे । त्यस अवसरमा महासंघका अध्यक्ष शाक्यले व्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताए । यस्तै उनले देशका विभिन्न नौ नाकाहरुवाट सुन उपलब्ध गराउनु पर्ने व्यवस्था कार्यविधित्रमा रहेको भए पनि बैंकहरुले त्यस अनुसार काम नगरेकोले व्यवसायीलाई सुन दिन काठमाण्डौमा नै धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे । पछिल्लो समयमा दैनिक १० किलोका दरले सुनको अयात हँदै आएको छ । जुन बजारको मागको तुलनामा अत्यन्तै कम भएको व्यवसायीको गुनासो छ ।