ढाका।बङ्गलादेशले गुवाहाटी–ढाका हवाई सेवा पुनः प्रारम्भ गर्न भारतसँग अनुरोध गरेको छ । बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणयकुमार वर्मासँग मङ्गलबार यहाँ भएको भेटवार्तामा बङ्गलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले उक्त आग्रह गर्नुभएको हो ।
त्यस अवसरमा दुवै पक्षबीच आपसी हितका विविध विषयमा छलफल भएको थियो । विदेशमन्त्री मोमेनले गुवाहाटी–ढाका हवाई सेवा पुनः सञ्चालनका साथै गुवाहाटी–सिल्हेटबीच सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले जनता–जनताबीचको सम्पर्क विस्तार तथा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सिल्हेट–सिलचरबीच सिधा बस सेवाको आवश्यक भएको बताउनुभयो ।
विदेशमन्त्री मोमेनले विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च ‘जी ट्वेन्टी’ को अध्यक्ष बनेको भारतले मञ्चका बैठकमा भाग लिन ‘अतिथि देश’का रूपमा आफ्नो मुलुकलाई आमन्त्रण गरेकामा कृतज्ञता व्यक्त गर्नुभएको बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
जी ट्वेन्टीको अध्यक्षता भारतले गरेको सन्दर्भमा बङ्गलादेशका विदेशमन्त्रीले वर्तमान विश्वले सामना गर्नुपरेको समस्या, कोभिडको महामारीपछिको आर्थिक पुनरूत्थान, युक्रेन युद्धका कारण युरोपका साथै संसारभर परेको प्रभाव, जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा जलवायुजन्य समस्या समाधन, दिगो विकासका लक्ष्य हासिल गर्न विकसित राष्ट्रबाट प्रतिबद्धताअनुरुप प्रवाह हुनुपर्ने वित्तीय सहयोग जुटाउन नयाँदिल्लीले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।