लक्ष्यभन्दा रु.२४ अर्ब न्यून राजस्व सङ्कलन, पूँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर

अर्थबिट २०७९-०९-०४ ०८:४३:०० बजे

काठमाण्डौ।चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम हो ।

विभागले मङ्सिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा रु एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ । अर्थात् लक्ष्यभन्दा करिब रु २४ अर्ब न्यून राजस्व सङ्कलन भएको हो ।

यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन । राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको लक्ष्यमा आयकर ८० दशमलव ६१ प्रतिशत, मूल्य अभिवृद्धि कर ८२ दशमलव ४७ र अन्तःशुल्क ९७ दशमलव ९ प्रतिशत बराबर मात्रै पुगेको छ । 

यो अवधिसम्ममा विभागले रु ५७ अर्ब ६६ करोड ७९ लाख ९१ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो । तर वास्तविक आयकर असुली भने रु ४६ अर्ब ४८ करोड ४९ लाख २२ हजार बराबर छ ।

त्यस्तै, भ्याट शीर्षकमा रु ५० अर्ब ९७ करोड ७० लाख ८८ हजार आन्तरिक राजस्व उठाउने विभागको लक्ष्य थियो । तर यो अवधिको भ्याट असुली रु ४२ अर्ब तीन करोड ८७ लाख बराबर मात्रै छ । 

पाँच महिना अवधिमा अन्तःशुल्कतर्फ रु ४३ अर्ब ६४ करोड १० लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा रु ४२ अर्ब ४५ करोड ७७ लाख बराबर मात्रै उठेको छ ।

घर बहाल कर असुलीमा पनि सरकारको लक्ष्य पुगेको देखिँदैन । मङ्सिर मसान्तसम्म रु एक अर्ब १५ करोड ५२ लाख ६१ हजार घर बहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ७१ दशमलव १४ प्रतिशत अर्थात् रु ८२ करोड १८ लाख ९० हजार बराबर मात्रै उठेको छ ।

स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । मङ्सिर मसान्तसम्म रु दुई अर्ब २३ करोड २६ लाख १९ हजार स्वास्थ्य सेवा कर उठाउने विभागको लक्ष्य थियो । तर लक्ष्यको एक सय ४० प्रतिशत अर्थात् रु तीन अर्ब १३ करोड ८८ लाख २८ हजार असुली भएको छ । त्यस्तै, शिक्षा कर रु ६० करोड ५५ लाख ७६ हजार बराबर असुली गर्ने लक्ष्य राखिएकोमा रु ८० करोड ८१ लाख ६६ हजार बराबर उठेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार विश्व परिदृश्य र अर्थतन्त्रमा आन्तरिक समस्याको असर राजस्व असुलीमा देखिएको हो । विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउनुहुन्छ । “अन्तर्राष्ट्रियरूपमा र देशभित्रै देखिएका अर्थतन्त्रका उतार चढावको असर आन्तरिक राजस्व असुलीमा देखिएको हो । सामान्य अवस्थालाई हेरेर लक्ष्य निर्धारण गरिएको हुन्छ । तर यसवर्ष विभिन्न कारणले परिस्थिति असामान्य बन्यो”, निर्देशक प्याकुरेलले भन्नुभयो । 

विभागले हरेक वर्ष अघिल्लो वर्षको भन्दा बढाएर नै राजस्व अनुमान गरेको हुन्छ । यस वर्ष पूँजीबजार र घरजग्गाको कारोबारमा मन्दी देखिएका कारण आयकरमा असर देखिएको उहाँको भनाइ छ । “गत वर्ष घरजग्गा र सेयरको कारोबार राम्रो थियो । जसकारण पूँजीगत लाभकर बढी उठेको थियो । तर यसवर्ष बजार घटेपछि त्यसको असर पनि सरकारी राजस्व असुलीमा देखियो”, प्याकुरेलले भन्नुभयो ।

गत कात्तिक मसान्तसम्म अन्तःशुल्क असुली लक्ष्यअनुसार नै रहे पनि पछिल्लो समय बियर र मदिराजन्य वस्तुको कारोबार घटेका कारणले त्यसको समेत असर देखिएको विभागको भनाइ छ । त्यस्तै, बैंकको तरलता अभाव, चालु पूँजी कर्जा नपाउनु, वस्तुको आयातमा प्रतिबन्ध, सरकारको पूँजीगत खर्च न्यून हुनु जस्ता कारणले राजस्व कम उठेको विभागको बुझाइ छ । पूँजीगत खर्च कम हुँदा सरकारलाई भुक्तानी गर्नु पर्ने मूल्यअभिवृद्धि कर पनि घटेको विभागले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।