वित्तीय अभाव बढ्न सक्छ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल

अर्थबिट २०७९-०९-२८ ०५:०९:०० बजे

काठमाण्डौ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनुभयो ।

मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी समृृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौँ ।”

 आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु पाँच खर्ब ८५ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ ।

 “सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ । यो कोभिड–१९ महामारीपूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको सम्मिश्रण गर्नुपर्दछ ।”

 नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै उहाँले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउँदै उहाँले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।

समिटमा नेपाल, भारत, श्रीलङ्का, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।