चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३ औं जन्मदिनमा विवाह

अर्थबिट २०७९-१०-०८ ०७:०७:०० बजे

लस एन्जेलस।चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ ।

अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गर्नुभएको हो ।

“मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,” एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिरसहित ट्वीट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं । हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं ।”

उहाँको लिङ्क्डइन प्रोफाइलका अनुसार फाउरले सन् १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि हासिल गर्नुभएको थियो भने बज एल्ड्रिन भेन्चर्समा सामेल हुनुअघि युनियन कार्बाइड र जोनसन म्याथेका लागि काम गर्नुभएको थियो । उहाँले क्यालिफोर्निया हाइड्रोजन बिजनेस काउन्सिलको कोषाध्यक्षको रूपमा पनि काम गर्नुभएको थियो । 

एल्ड्रिनको यसअघिका तीन विवाह सम्बन्धविच्छेदमा टुङ्गिएका थिए ।

एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुनुहुन्छ । उहाँ र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेक्नुभएको थियो । 

चन्द्रमाको सतहमा आफ्ना चालक दलका सदस्यहरू हिँडिरहेका बेला कमान्ड मोड्युलका पाइलट माइकल कोलिन्सको अप्रिल २०२१ मा र आर्मस्ट्रङ्गको सन् २०१२ मा निधन भएको थियो ।

सन् १९७१ मा नासाबाट अवकाश लिए पनि एल्ड्रिन अन्तरिक्ष अन्वेषणमा सम्लग्न रहँदै आउनुभएको थियो ।अपोलो ११ अवतरण स्थल नजिकै चन्द्रमामा रहेको क्रेटरको नाम उहाँको सम्मानमा राखिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।