काठमाण्डौ।आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू एक लाख पाँच हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला रू एक लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो ।
महासङ्घ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरुले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताए। महासङ्घले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष शाक्यले भने, “हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ ।”
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।