आयातसँगै घट्यो निर्यात, सात खर्बकोे व्यापारघाटा

अर्थबिट २०७९-१०-१० ०४:२८:०० बजे

काठमाण्डौ।चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म रू नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।

साथै गत आवको पुससम्म रू एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा रू ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो । तथ्याङक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।

सात खर्बकोे व्यापारघाटा

चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा रू सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले रू आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ ।  गत आवमा रू आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा रू ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र रू चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट रू चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।

आयात प्रतिबन्धकोे असर राजस्वमा

सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा रू दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा रू एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व सङ््कलन भएको हो ।

सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट रू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मङ्सिरमा रू एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा रू एक खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो ।

एक सय ४८ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट रु सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै रु चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ  । 

कुल रू चार खर्ब बढीको आयात हुँदा रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै रू चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । छ महिनाको अवधिमा चीनबाट रू एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने रू ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।