अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता

अर्थबिट २०७९-१०-२५ ०३:५५:०० बजे

काठमाण्डौ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ । 

अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उहाँहरुका बीचमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।  भेटमा अर्थ मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइएको स्मरण गर्नुभयो । 

नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको उहाँले भेटमा बताउनुभयो । 

अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको तथा विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेको बारे पनि प्रशासक पावरलाई जानकारी गराउनुभयो ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गर्नुभएको  थियो । नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उहाँको भनाइ छ ।

सो अवसरमा प्रशासक  पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकार (जी–टु–जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँनुहुँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।