बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

अर्थबिट २०७९-१०-२९ ०४:४५:०० बजे

काठमाण्डौ।सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको हो । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्चतर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।