निर्यात खुलाउन चीन सरकार सकारात्मक

अर्थबिट २०७९-११-०५ १३:४२:०० बजे

चौतारा।आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ । तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ । तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी भने यो प्रारम्भिक छलफल मात्रै भएको बताउनुहुन्छ । बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेको प्रजिअ न्यौपानेले बताउनुभयो । निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि बैठकमा जानकारी गराइएको उहाँले बताउनुभयो । 

बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूको सहभागिता रहेको थियो । 

भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो । तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो । विसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।