वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’

अर्थबिट २०७९-११-०९ ०४:५७:०० बजे

वीरगञ्ज।पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पु¥याउने गरेको पाइएको छ । 

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३  जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा भारतको विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

आव २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न सहरबाट एक सय ११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आव २०७७/७८ मा ८५ महिला, २२ बालिका र एक बालकको उद्धार गरिएको गिरीले बताउनुभयो । आव २०७८/७९ मा एक सय आठ महिला, एक सय ३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकामा  एक सय पाँच महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले जनाएको छ । 

आव २०७७/७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएका प्रहरीमा उजुरी परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा  कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताउनुभयो ।  दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो । संरक्षण नेपालका पारस प्रसादले चालु आवको छ महिनामा ३७ बालक र १८ बालिकाको भारतका विभिन्न सङ्घ संस्था प्रहरीसित समन्वय गरी उद्धार गरिएको जानकारी दिनुभयो । 

भारतको मोतीहारीस्थित जिल्ला बालसंरक्षण कार्यालयकी सहायक निर्देशक ममता झाले बालबालिका, किशोरी तथा महिलालाई विभिन्न बाहाना तथा प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा पु¥याउने गरिएको पाइएको बताउनुभयो । “उद्धारमा दुवै देशको नीतिनियम तथा ऐन बाधक बन्ने गरेको छ”, उहाँले भन्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।