बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री

अर्थबिट २०७९-१२-२७ ११:२९:०० बजे

काठमाण्डौ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ।

अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले सिंहदरबारमा आज बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताउनुभयो । 

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ। बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।”

“विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ।”

“अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन्” प्रधानमन्त्रीले भन्नुभयो, “यसमा भूकम्प, कोभिड, रुस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ।”

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदै छौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ”, प्रधानमन्त्रीले भन्नुभयो।

“बैङ्क ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “हुल हुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।”

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैङ्क र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताउनुभयो।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा.प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।