कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

अर्थबिट २०७९-१२-२९ ०८:३४:०० बजे

काठमाण्डौ।सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको मंगलबार तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । 

अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि  मंगलबार कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

अदालतले गरेका फैसला र अदालती प्रक्रियाका विषमा आफूहरूले कुनै पनि निर्णय दिन नसक्ने जानकारी गराएको उहाँले बताउनुभयो । पीडितहरूले भने सबै अदालती प्रक्रिया टुङ्ग्याएर मन्त्रिपरिषद्बारा लिखत नै खारेज गर्नुपर्नेलगायत माग राखी आफ्नो जग्गाको पुर्जा नै लिएर जाने अडान राखेका जनाइएको छ । 

नीतिगत कुरामा वार्ता टोलीले सिफारिस गर्न सक्ने र प्रशासनिक समस्या भए गृह मन्त्रालयबाटै सम्बोधन गर्ने कुरामा सहमति भए पनि कानूनी प्रश्नमा गएर वार्ता अड्किएको हो । यस विषयमा विकल्प के हुनसक्छ र कसरी अघि बढ्ने भन्ने विषयमा पीडितले छलफल गर्ने र सरकारी वार्ता टोलीले पनि आवश्यक छलफल गर्ने गरी मंगलबारको वार्ता स्थगित भएको र वार्तालाई निरन्तरता दिने सहमति भएको कोइरालाले राससलाई जानकारी दिनुभयो । 

पीडितहरूले राखेका विभिन्न छ बुँदे मागमाथि वार्तामा छलफल जारी छ । उनीहरूले मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाको रिहाइ, बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पति छानबिनलगायत माग राखेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।