किमाथाङ्का नाका सञ्चालनमा ल्याइने

अर्थबिट २०८०-०१-११ ०९:३१:०० बजे

किमाथाङ्का।सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्कानाका चाँडै सञ्चालन ल्याइने भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । 

किमाथाङ्कानाका सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री साउदले प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्खुवासभाका प्रदेशसभा (१) का प्रदेश सदस्य राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार परराष्ट्रमन्त्री साउदले ध्यानाकर्षण पत्र बुझ्दै किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताउनुभएको हो । 

आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधिसभा सदस्य दीपक खड्का, प्रदेशसभा सदस्य कार्कीलगायत जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिले चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । 

परराष्ट्रमन्त्री साउदले नाका सञ्चालन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रदेशसभा सदस्य कार्कीले बताउनुभयो । किमाथाङ्का नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने परराष्ट्रमन्त्री साउदले बताउनुभएको थियो । 

कोरोना महामारीका कारण तीन वर्षदेखि उक्त नाका बन्द रहेको छ । किमाथाङ्का नाका खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।