बङ्गलादेशको आर्थिक वृद्धिदर चीनको भन्दा बढी

अर्थबिट २०८०-०१-२६ १४:३४:०० बजे

ढाका।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ ।

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्गलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । आईएमएफको एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्याङ्कन मे २०२३ को रिपोर्टले पनि बङ्गलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ ।

बङ्गलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादन को वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ ।

यद्यपि चीनको अर्थतन्त्र बङ्गलादेशको भन्दा निकै ठूलो छ । आईएमएफको प्रतिवेदनअनुसार बङ्गलादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ, लचिलोपन साथै स्थिरता सुविधा व्यवस्थाले जलवायु लगानी प्राथमिकताहरू वित्तपोषण गर्न वित्तीय स्थान विस्तार गर्नेछ र दीर्घकालीन जलवायु जोखिमहरूको विरुद्ध लचीलापन निर्माण गर्नेछ ।

प्रतिवेदनले विशेष गरी बङ्गलादेश र प्रशान्त टापुहरू सहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको डेली सनको रिपोर्टमा उल्लेख गरिएको छ ।

बङ्गलादेशको तीव्र आर्थिक विकासको बावजुद आईएमएफका अधिकारीहरूले देशको केही समष्टिगत आर्थिक सूचकहरूबारे चिन्ता व्यक्त गरेका छन् । 

आईएमएफको टोलीले सन् २०२३ को अप्रिल २५ देखि मे ७ सम्म बङ्गलादेशको राजधानी ढाकामा हालैका समष्टिगत आर्थिक घटनाक्रम र यसको कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गर्न ढाकाको भ्रमण गरेको थियो ।

भ्रमणको समापनमा बङ्गलादेशका लागि मिसन प्रमुख राहुल आनन्दले एक वक्तव्य जारी गर्दै चुनौतीपूर्ण आर्थिक पृष्ठभूमिका बाबजुद एशिया–प्रशान्त क्षेत्रमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये बङ्गलादेश एक रहेको बताउनुभएको छ । 

निरन्तर मुद्रास्फीतिको दबाब, विश्वव्यापी वित्तीय स्थितिमा अस्थिरता र प्रमुख उन्नत व्यापारिक साझेदारहरूमा मन्दीले यसको वृद्धि, विदेशी मुद्रा सञ्चिति र यहाँको मुद्रा टाकालाई असर गरिरहेको आनन्दले बताउनुभयो । 

रिपोर्टका अनुसार बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति पछिल्लो समय छ वर्षयताकै न्यून बिन्दुमा झरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।