अर्थतन्त्रलाई गति दिन लागिपरेको छु : प्रधानमन्त्री दाहाल

अर्थबिट २०८०-०२-३२ ०९:३६:०० बजे

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताउनुभएको छ । 

कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । 

आफ्नो भारत भ्रमण मुलुकको आर्थिक सम्मुन्नतिका लागि सफल भएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतको योजनाबाट नेपालले लाभ लिने बताउनुभयो । 

दैलेख विभिन्न जातजातिको ऐतिहासिक थलो भएको उल्लेख गर्दै उहाँले दैलेखमा धेरै जातजातिका पुर्खाको बसोबास रहेको इतिहास पाइएको बताउनुभयो । प्रधानमन्त्री दाहालले यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्नसके विश्व मानचित्रमा दैलेखको पहिचान देखिने बताउनुभयो । 

आफूलाई सानोमा दाहाल बन्धुको पुर्खाहरू दैलेखबाट आएको भन्दा कौतुहल लाग्ने गरेको उहाँले स्मरण गर्नुभयो । “दाहालहरूको उद्गम थलो पश्चिमको दैलेख भन्ने गर्थे, त्यतिबेला मलाई कौतुहल लाग्थ्यो, अहिले पुर्खाको थलोमा आइपुग्दा मलाई गर्व लागेको छ”, उहाँले भन्नुभयो । 

उहाँले भाइबन्धुको एकतासँगै सिङ्गो राष्ट्रको एकता गर्ने आफ्नो पहिल्यैदेखिको सपना भएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले दासुको पहिलो सालिक अनावरण गर्नुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।