राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

अर्थबिट २०८०-०३-१३ ०९:१५:०० बजे

काठमाण्डौ।प्रतिनिधिसभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्र्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना श्रेष्ठ, अशोककुमार चौधरी र अमृतलाल राजवंशीले बोल्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले अहिलेसम्म सीमाभित्रै रहेर ऋण लिइएको र ऋणको बोझ घटाउन सरकारले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले ऋण कति लिनेभन्दा पनि ऋणको कसरी प्रयोग गर्ने भन्ने विषयलाई सरकारले गम्भीरताका साथ लिएको पनि उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा महतले दातृ निकाय बहुपक्षीय र त्रिपक्षीय ऋण कुन क्षेत्रमा कसरी प्रयोग हुन्छ भन्नेबारे यथेष्ट गृहकार्य गरेर मात्रै ऋण लिने सरकारको नीति रहेको स्मरण गराउनुभयो । 

सहुलियतपूर्ण ब्याज सकेसम्म एक प्रतिशतभन्दा तलको ऋणलाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो । “सीमाभित्रै रहेर ऋण लिएका छौँ, ऋणले कति जनसङ्ख्यालाई फाइदा पुग्नसक्छ सोही नीतिअनुरूप ऋण लिने गरेका छौँ”, उहाँले भन्नुभयो ।

त्यसरी लिएको ऋण बढीभन्दा बढी पूर्वाधार विकास (पर्यटन, ऊर्जालगायत क्षेत्र) मा लगानी गर्ने गरी प्राथमिकीकरण गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।