केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह

अर्थबिट २०८०-०३-२९ ०६:१६:०० बजे

रसुवा।नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् । 

व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन् । 

टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्काे ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । 

अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यस सम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताउनुभयो । 

कोरोना सङ्क्रमणपश्चात्  २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो । अनावश्यक टीकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइँकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव सङ्कलन गरिसकेको छ । 

केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ । सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।