नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसक्यो : अर्थमन्त्री डा महत

अर्थबिट २०८०-०४-०३ ११:०२:०० बजे

काठमाण्डौ।अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ ।

भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उहाँले बताउनुभयो ।

नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतले उल्लेख गर्नुभयो । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न उहाँले लगानीकर्तालाई अनुरोध गर्नुभयो ।

नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्नसक्ने र भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको मन्त्री महतले बताउनुभयो । 

गुजरात  उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । कार्यक्रममा अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालमा लगानी क्षेत्र तथा सम्भावनाका विषयमा भारतीय उद्योगी व्यवसायीलाई जानकारी गराउनुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।