सुन तस्करी प्रकरण : सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै

अर्थबिट २०८०-०५-१३ ०८:२६:०० बजे

काठमाण्डौ । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने भएको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिनुभयो । चाँडै आचार्य हङ्कङ जाने पनि उहाँले बताउनुभयो । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइवीले गरिरहेको छ । सिआइवीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइवीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।