सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

अर्थबिट २०८०-०५-१९ १४:५७:०० बजे

कोलम्बो । श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् ।

सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताउनुभयो । 

यसैबीच विदेशमा रहेका श्रीलङ्कालीहले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् ।

कामदारहरूको विप्रेषण श्रीलङ्काको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ । 

श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदर बढाउनु र अत्यावश्यक वस्तुहरूको आयात कटौतीपछि औषधि, खाद्यान्न र ग्यासजस्ता वस्तुहरूको कमीले जीवन कष्टकर भएपछि श्रीलङ्काली नागरिक आन्दोलित भएका थिए । 

आन्दोलनका भरमा श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्षले राजिनामा दिनु परेको थियो भने लामो राजनीतिक अनुभव सम्हालेका वर्तमान् राष्ट्रपति रनिल विक्रमासिङ्घेको नेतृत्वमा स्थितिलाई सम्हाल्ने काम भएको छ । सुधारका सङ्केत देखिएका छन् । मुद्रास्फीति घटेको छ र आर्थिक गतिविधि सामान्य देखिन थालेका छन् । यद्यपि, आर्थिक सङ्कटले पारेको घाउहरू निको हुन निकै समय लाग्ने देखिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।