अमेरिकी व्यापार घाटा वृद्धि

अर्थबिट २०८०-०५-२१ १४:५३:०० बजे

वासिङ्टन । आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।

“जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,” वाणिज्य विभागले जनाएको छ।

तर विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्रैमासिकको औसतभन्दा कम रहेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ ।

विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबारको प्रतिवेदनले देखाएको छ ।

अमेरिकी अर्थतन्त्रमा सुस्तताको सङ्केत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।

तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरङ्ग आउन सक्ने देखिएको छ ।

जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ ।

अमेरिकाको चीनसँगको व्यापार घाटा जुलाईमा १.२ अर्ब डलर बढेर २४ अर्ब डलर पुगेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।