युरो क्षेत्रको आर्थिक वृद्धि शुन्य दशमलव आठ प्रतिशतमा खुम्चिने प्रक्षेपण

अर्थबिट २०८०-०५-२५ १३:५६:०० बजे

ब्रसेल्स । युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ ।सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।

युरोपेली सङ्घ (ईयू) को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र ०.४ प्रतिशतले खुम्चिने अनुमान गरेको छ ।जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ र निर्यातमा कमजोर प्रदर्शनको सामना गरिरहेको छ । यी दुवै अवस्थाले समग्र अर्थव्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ । 

आयोगले आफ्नो प्रतिवेदनमा युक्रेनमा भएको युद्धसँग जोडिएको ऊर्जाको मूल्यमा आएको झट्काका कारण जर्मनी ‘विशेष गरी प्रभावित’ भएको उल्लेख गरेको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा जर्मनी मात्र विकसित अर्थतन्त्र हुने प्रक्षेपण गरिसकेको छ ।युरो क्षेत्र र समग्रमा युरोपेली सङ्घको आर्थिक वृद्धि दर जारी रहनेछ तर यो वर्षको सुरुमा अनुमान गरिएभन्दा कम हुनेछ ।

युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’लाई इङ्गित गर्दै युरोपेली सङ्घका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भन्नुभयो, “यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्तऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक वृद्धिको गति निम्त्याएको छ ।”सन् २०२३ का लागि २७ राष्ट्रसम्मिलित ईयूको आर्थिक वृद्धिदरको अनुमानलाई पनि घटाएर ०.८ प्रतिशतमा झारिएको छ ।

सन् २०२४ मा विश्वका २० देश मिलेर बनेको एकल मुद्रा क्षेत्र (युरोजोन) १.३ प्रतिशतले वृद्धि हुने आयोगले जनाएको छ ।ईयूको आर्थिक वृद्धि दर आगामी वर्ष १.४ प्रतिशत रहने अनुमान पनि आयोगले गरेको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमान ५.६ प्रतिशतकोतुलनाभन्दा सन् २०२३ मा सामान्य बढी ५.८ प्रतिशत रहने अनुमान गरिएको छ ।युरोजोनमा उपभोक्ता मूल्य सन् २०२४ मा सन् २०२३ को  (२.८ प्रतिशत) को तुलनामा २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । 

#EU

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।