पाकिस्तान इन्टरनेशनल एयरलाइन्स चरम आर्थिक सङ्कटमा

अर्थबिट २०८०-०५-२६ १३:२५:०० बजे

इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) चरम आर्थिक अभावबाट गुज्रिएको छ । विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान नउडाउने जोखिम बढेको जियो न्यूजले जनाएको छ । 

यदि विमानहरू ‘ग्राउन्डेड’ भएमा ३० भन्दा बढी उडान स्थगित हुनेछन् जसले आम्दानी स्रोत घट्दा आर्थिक सङ्कटलाई बढाउने छ । इन्धन, फेडरल एक्साइज ड्युटी र ‘लिज’ (भाडा)रकम भुक्तानी समयमै नहुँदा  १५ वटा विमान ग्राउन्डेड हुनसक्ने बाध्यात्मक परिस्थिति नआओस् भन्ने कामना सम्बद्ध अधिकारीहरूले गरेका छन् । 

नागरिक उड्डयन मन्त्रालयले पिआईएको पुनसंरचना गर्नु अति जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यस गर्न एक वर्ष लाग्ने बताएको छ तर, यो अवधिमा राष्ट्रिय ध्वजावाहकलाई सञ्चालन गर्नैपर्ने आवश्यकता रहेको जिओ न्यूजले जनाएको छ ।

गत साता सरकारको सहयोगमा ब्याङ्कहरूले पिआईएलाई रकम उपलव्ध गराएपछि आफ्ना वित्तीय चुनौतिबाट क्षणिक राहत महसुस गरेको पिआईए पुनः समस्यामा परेको छ । यद्यपि प्राप्त रकम विमान र इन्जिन भाडाको लामो समयदेखिको बक्यौता, विदेशी विमानस्थलमा भएको खर्चको भुक्तानीहरू तिर्न प्रयोग गरिने जनाइएको छ । 

यसअघि पिआईएले भाडामा लिएका १३ वटा विमानमध्ये पाँच वटा ग्राउन्डेड गरेको थियो । पिआईएले करिब २३ अर्ब रुपैयाँ उपलव्ध गराउन सरकारसँग माग गरेको छ तर आर्थिक समन्वय समितिले  त्यसलाई अस्वीकार गरेको थियो । गत जुलाईमा सङ्घीय राजस्व बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढी कर नतिरेको भन्दै राष्ट्रिय ध्वजावाहकको खाता रोक्का गरेको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।