पुँजीबजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ : अर्थसचिव पुस्कर

अर्थबिट २०८०-०६-०४ ०३:०२:०० बजे

काठमाण्डौ । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थसचिव पुस्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गर्नुभयो ।

“अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु”, पुस्कले भन्नुभयो, “राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौं भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ ।”

अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट चुनौतीहरु देखा परेको रहेको उल्लेख गर्नुहुँदै अर्थसचिव पुस्करले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताउनुभयो ।

“अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन् । पुँजीबजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “चुनौतीहरु बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ ।” वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।

पुस्करले यसअघि पनि अर्थमन्त्रालयमा राजस्व सचिव र अर्थ सचिवका रुपमा काम गरिसक्नुभएको छ । अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उहाँको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

“हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरुमा काम प्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “तपाईंरुले व्यवसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विस्तस्त छु ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।