टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह

अर्थबिट २०८०-०६-१० ११:४६:०० बजे

काठमाण्डौ । काठमाण्डौको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ ।

टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिनुभयो । गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उहाँको भनाइ थियो ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उहाँले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट संघीय सरकारसँग भर पनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । राजस्व सप्ताहसम्बन्धी मङ्गलबार बसेको तयारी बैठकमा बोल्दै राष्ट्रिय  योजना आयोगका पूर्वसदस्य प्रा डा डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । राजस्वले नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत लालप्रसाद पङ्गेनीले घर–घरमा पुगेर कर शिक्षा प्रदान गर्न सकेमात्र नगरपालिकाले राखेको लक्ष्य हासिल हुने बताउनुभयो । करदाता सेवा कार्यालय लाजिम्पाटका कर अधिकृत तिलक खड्काले नगरवासीले कर नतिरे नगरपालिकाबाट पाउने सेवा, सुविधा कटौती हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो । नगरपालिकाले राजस्वलाई फराकिलो बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।