नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

अर्थबिट २०८०-०७-१९ १३:००:०० बजे

नयाँदिल्ली । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे) का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । 

उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न आग्रह गरिरहेका छाँै, नोभेम्बर १९ देखि विश्वव्यापी नाकाबन्दी हुनेछ, एयर इन्डियालाई उडान गर्ने अनुमति दिइने छैन, सिखहरू नोभेम्बर १९ पछि एयर इन्डियाबाट यात्रा नगर्नुहोस्, तपाईँहरूको जीवन खतरामा पर्न सक्छ”, सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा पन्नुनले भनेका छन् । 

नोभेम्बर १९ मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आइजिआई) विमानस्थल बन्द रहने र यसको नाम परिवर्तन गरिने पन्नुनले दाबी गरेका छन् । उनले सोही दिन क्रिकेट विश्व कपको फाइनल खेल हुने बताएका छन् । “नोभेम्बरमा यो त्यही दिन हो जुन दिन वर्ल्ड टेरर कपको फाइनल खेल हुनेछ”, उनले भनेका छन्, “जब पञ्जाब स्वतन्त्र हुन्छ त्यसपछि यो विमानस्थलको नाम सहिद बेअन्त सिंह, सहिद सतवन्त सिंह खालिस्तान विमानस्थल हुनेछ ।”

एसएफजे प्रमुख पन्नुनले धम्की दिएको यो पहिलो पटक होइन । सेप्टेम्बरमा उनले खालिस्तान आतङ्कवादी हरदीप सिंह निज्जरको हत्यामा भारत र क्यानाडाबीच कूटनीतिक विवादका बीच हिन्दू–क्यानाडाली मानिसहरूलाई क्यानाडा छोड्न आग्रह गरेका थिए । 

उनले सामाजिक सञ्जालमा प्रसारित एक भिडियोमा खालिस्तान समर्थक सिखहरूले क्यानाडाप्रति निरन्तर वफादारी देखाएको बताएका छन् । त्यसपछि उनले भारत–क्यानाडाली हिन्दूहरूलाई क्यानाडा छाड्न धम्की दिएका छन् । 

उनको घृणित भाषण फैलिएपछि हिन्दू फोरम क्यानाडाका वकिलहरूले क्यानाडाली आप्रवासन मन्त्रीसँग क्यानाडाली क्षेत्रमा पन्नुनको प्रवेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । उनीहरूले आप्रवासनमन्त्री मार्क मिलरलाई पत्र लेख्दै पन्नुनको हालैको टिप्पणीहरूले हिन्दू समुदायभित्र मात्र नभएर ठूलो मात्रामा क्यानाडाली नागरिकहरूबीच सङ्कट र आघात पुगेको बताएका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।