१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन

अर्थबिट २०८०-०७-२० १०:२९:०० बजे

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । 

आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । 

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ । 

कसको नेतृत्वमा कुन प्रदेश ? 

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ । 

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए । 

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।