सुदुरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव

अर्थबिट २०८०-०७-२६ १२:१७:०० बजे

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले सुदुरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो । 

आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबैमन्त्री सहभागी भए । कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् । 

सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिएका छन् । आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन् । आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् । तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् । 

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो । कोशी प्रदेशमा सदस्य डा. आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो । कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।