बङगलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर पुग्यो

अर्थबिट २०८०-०९-०२ ०९:२०:०० बजे

ढाका । दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । 

बङ्गलादेश बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता मोहम्मद मेजबुल हकले आइतबार पत्रकारहरूसँग ६८ करोड ९० लाख डलर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र ४० करोड डलर एसियाली विकास बैंक (एडिबी) बाट आएको जानकारी दिनुभयो । 

उहाँका अनुसार वैश्विक ऋणदाताबाट केन्द्रीय बैंकको खातामा एक अर्ब नौ करोड डलर ऋण प्राप्त हुनुअघि बिहीबार मुलुकको वैदेशिक मुद्रा सञ्चिति १९ अर्ब १७ करोड डलर थियो । 

विश्वव्यापीरूपमा आयात लागतमा उल्लेख्य वृद्धि हुनुका साथै विप्रेषण र निर्यातबाट हुने आम्दानी अपेक्षाकृत कम हुँदा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम जारी छ ।

बङ्गलादेशको सबैभन्दा उच्च वैदेशिक मुद्रा सञ्चिति सन् २०२१ मा ४८ अर्ब डलर थियो । यद्यपि अन्तर्राष्ट्रिय उथलपुथलका कारण २०२२ को सुरुआतदेखि नै सञ्चितिको दर घट्दै गएको देखिन्छ ।

खुम्चिँदै गएको वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि केन्द्रीय बैंकले गत वर्ष धेरै उपाय अवलम्बन गरेको थियो । बैंक अन्तर्राष्ट्रिय कारोबारमा चिनियाँ युआनको प्रयोगसहित वैकल्पिक मुद्रा व्यवस्थामनमा लागेको छ ।

यद्यपि केन्द्रीय बैंकका अधिकारीहरूले वर्तमान सञ्चितिसँगै बङ्गलादेश करिब चार महिनाको आयातको भुक्तानी गर्ने स्थितिमा रहेको बताएका छन् । बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।