खर्च घटाउन अफगानहरूले गरे सामूहिक समारोहमा विवाह

अर्थबिट २०८०-०९-१० १७:४२:०० बजे

काबुल । गरिब मुलुकमा परम्परागत विवाहमा हुने ठूलो खर्च कम गर्ने बढ्दो अभ्यासका रूपमा अफगानिस्तानको राजधानीमा सोमबार एउटा संयुक्त समारोहमा ५० जोडीको विवाह भएको छ । 

दर्जनौँ दम्पती काबुलस्थित विवाह हलहरूमध्ये एकमा सहभागी भए र विवाह बन्धनमा बाँधिए तर उक्त समारोह केही हदसम्म साधारण थियो । सन् २०२१ अगस्टमा तालिबान सत्तामा आएपछि विवाहहरू कम महत्त्वपूर्ण मामिला बनेका छन् । अधिकारीहरूले त्यस्ता गतिविधिलाई गैर–इस्लामिक ठानेपछि नृत्य र सङ्गीतमाथि प्रभावकारीरूपमा प्रतिबन्ध लगाएका छन् 

विमानस्थलनजिकै सिटी स्टार विवाह हलअगाडि परम्परागत सलवार कमिज लगाएका करिब एक सय जना पगडीधारी पुरुषहरू समूहमा कुराकानी गरिरहेका थिए । त्यहाँ एक जना पनि महिला थिएनन् । नवविवाहित जोडीलाई लैजानका लागि उनीहरूले कारहरूलाई हरियो रिबन र प्लास्टिकको रातो गुलाबले मुटु बनाएर सजाएका थिए । 

केही घन्टामै आफ्नी दुलहीसँग जान लागेका १८ वर्षीय रुहुल्लाह रेजाईले उहाँ एक्लैले विवाहको खर्च धान्न नसक्ने एएफपीलाई बताउनुभयो । “परम्परागत विवाहमा हामीलाई कम्तीमा पनि दुई लाखदेखि दुई लाख ५० हजार अफगानी मुद्रा (दुई हजार आठ सयदेखि तीन हजार छ सय अमेरिकी डलर) खर्च हुनेथियो तर यो पटक यो १० हजारदेखि १५ हजार अफगानी मुद्राको बीचमा खर्च हुनेछ”, उहाँले भन्नुभयो । 

हजारा शिया अल्पसङ्ख्यक र घोर प्रान्तका यी युवाले सानातिना काम गरेर दैनिक मुस्किलले तीन सय ५० अफगानी मुद्रा कमाउनुहुन्छ । “हामीले हाम्रा दुई परिवारबाट ३५ जनालाई निमन्त्रणा गर्यौँ, अन्यथा यो तीन सयदेखि चार सयसम्म हुन्थ्यो”, उहाँले भन्नुभयो ।

सामूहिक विवाह समारोहको आयोजना गर्ने सेलाब फाउन्डेसनबाट प्रत्येक जोडीलाई दिइएको चन्दा एक हजार छ सय डलर बराबरको छ । उक्त रकम विश्वको सबैभन्दा गरिब मुलुकमध्येको एक अफगानिस्तानमा ठूलो राशि हो । 

नवविवाहित जोडीले वैवाहिक जीवन सुरु गर्नका लागि एउटा केक, टुथपेस्ट, स्याम्पु र मोइस्चराइजर भएको एउटा किट, गलैँचा, कम्बल र केही घरेलु उपकरण लिएर निक्लनेछन् ।

परम्परागत पाटु सलमा बेरिएका सयौँ पुरुष अतिथिहरू मालाले झुन्डिएको एउटा ठूलो र चिसो हलमा आयोजित समारोहमा सहभागी भए । सदाचारको प्रवर्द्धन र खराबीलाई रोक्नका लागि मन्त्रालयका एक अधिकारीले सम्बोधन गरे र त्यहाँ कुरानको पाठ पढियो ।

यद्यपि बेहुलीहरूलाई छुट्टै लहरमा नजरबाट टाढा राखिएको थियो र पत्रकारहरूलाई उनीहरूसमक्ष पुग्न निषेध गरिएको थियो । दिउँसोको भोजनपछि महिलाहरू सम्पूर्णरूपमा पर्दा लगाएको अवस्थामा देखा परे ।

अफगानिस्तानमा ठूलो र खर्चिलो विवाहहरूमा एक हजारभन्दा बढी पाहुना एकैसाथ आउनसक्छन् र खर्च २० हजार डलरभन्दा धेरै हुनसक्छ । सोमबारको सामूहिक विवाहका लागि छ सय जोडीले निवेदन दिएका थिए । छनोट गरिएका केही भाग्यशालीका लागि यो लामो प्रतीक्षा भएको छ । 

काबुल प्रान्तका २३ वर्षीय किसान सहिउल्लाह जमानीले भन्नुभयो, “म यही दिनका लागि तीन वर्षदेखि प्रतीक्षा गरिरहेको थिएँ ।” आफ्नी दुलहीका बारेमा उहाँले भन्नुभयो, “म उनलाई हेर्न लामो प्रतीक्षा गर्न सक्तिन ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।