बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्नता गराई सञ्चालन गर्ने तयारी

अर्थबिट २०८०-०९-१७ ११:४९:०० बजे

मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिनुभएको छ  ।

मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३  समापन समारोहलाई आइतबार  यहाँ सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्र मैत्री रहेकाले सम्झौता भएको छ कि छैैन सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताउनुभयो ।

अर्थमन्त्री डा महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै  अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिनुभयो । उहाँले  आगामी वैशाखमा सरकारले  अन्तरराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत्, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताउनुभयो ।

अर्थमन्त्री डा महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्न गराएर जमिन चै राज्यको रहनेगरी  सञ्चालन गर्ने  जानकारी दिनुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुलुकको आर्थिक चलायमन गराउन बैङ्कले उद्योग प्रवद्र्धनमा सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घका अध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष प्रकाश मुन्दडा र नेपाल उद्योग परिसङ्घ प्रदेश अध्यक्ष पवन शारदाले उद्यमीहरुका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।