आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने : प्रधानमन्त्री

अर्थबिट २०८०-१०-२६ ०८:४९:०० बजे

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । आठौँ नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने तथा सुझाव लिने काम भइरहेको उहाँको भनाइ थियो । बजेट निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिँदै उहाँले आगामी आवको बजेटले मुलुकको रुपान्तरण गर्ने विश्वास दिलाउनुभयो ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमनमा वृद्धि भएको छ, यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्वमा पनि वृद्धि भएको छ ।”

प्रधानमन्त्री दाहालले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।