सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा महत

अर्थबिट २०८०-११-०४ ०४:२४:०० बजे

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । 

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पानुभएको हो ।  

मन्त्री डा महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पार्नुभयो । बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो ।

साथै उहाँले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएकोसमेत जानकारी गराउनुभयो । मन्त्री डा महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताउनुभयो । सरकारले चालु वर्षमा रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरेको थियो ।

सो अवसरमा उहाँले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी गराउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उहाँको भनाइ थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।