सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

अर्थबिट २०८१-०९-११ १२:३७:०० बजे

काठमाण्डौ ।  प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । 

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिनुभयो । 

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव  दिनुभयो । समिति  सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताउनुभयो । 

समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्छ भन्नुभयो । बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गङ्गा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिनुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।