काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीद्वारा जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गरेको हो । सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यसैबीच कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर म्यूचुअल फण्डहरुलाई छुट्याएको छ।
कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि समेत निष्काशन गरिसकेको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने बताइएको छ। कम्पनीको आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको उक्त शेयर खरिद गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको साधारण शेयरका लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त केयर रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, पुतलिसडक, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८१/०४/२३ गते “[CARE NP-BB-(is)] (Double B Minus)” प्रमाणपत्र प्राप्त गरेको छ । “[CARE-NP-BB-]” ले (Issue with the rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations ) भन्ने जनाउँदछ ।