काठमाण्डौ । भर्खरै प्राथमिक बजारमार्फत् आइपीओ निष्कासन गरेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.(एनएमआइसी) को यही साता नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा सूचीकृत हुने भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले नेप्सेमा सूचीकृत हुनका लागि फाइल आइसकेको अवस्था छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.(एनएमआइसी) र नेप्सेबीच भोलि बुधबार अथवा पर्सि बिहीबारसम्म सूचीकृत हुनका लागि सम्झौता हुने भएको हो । नेपाल माइक्रोको नेप्सेमा सूचीकृत भएपछि भने दोस्रो बजारमा समेत खरिदबिक्री गर्न मिल्नेछ ।
नेप्सेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.(एनएमआइसी) को भोलि बुधबार सूचीकृत हुनसके पर्सि बिहीबारदेखि दोस्रो बजारमा उक्त कम्पनीको शेयर किनबेच गर्न मिल्नेछ । तर पर्सि बिहीबार मात्रै नेप्सेमा सूचीकृत भएको खण्डमा भने अर्को साता आइतबारबाट उक्त कम्पनीको शेयर किनबेच गर्न पाइनेछ ।
उक्त कम्पनीको दोस्रो बजारमा न्यूनतम रु.१०१.९० देखि अधिकतम रु. ३०५.७ सुरुवाती मूल्य तोकिनेछ ।
केही समयअघि कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको प्रति शेयर रु.१०० का दरले कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
नेप्सेमा यसअघि सूचीकृत माइक्रो इन्स्योरेन्स सेक्टरकै गार्डियन लाइफले भने शेयर बजारमा धमाका मच्चाइरहेको छ । उक्त कम्पनी २४ सय रुपैयाँमाथि खरिदबिक्री भइरहेको छ ।