लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल

अर्थबिट २०८१-१२-१८ ०७:०३:०० बजे

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताउनु भएको हो । 

उहाँले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताउनुभयो । 

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरुलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिनु भयो । 

श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताउनु भयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताउनु भयो । 

अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।