धरानमा १४ लाख रुपैयाँ खर्चेर ६० जनालाई फिल्ममेकर बनाइने

सरिता तामाङ्ग २०७८-११-२१ ०९:४३:०० बजे

काठमाण्डौ। धरानमा आधारभूत चलचित्र निर्माण प्रशिक्षण(क्र्यास कोर्स) कार्यक्रम सञ्चालन हुने भएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ र नेपाल चलचित्र निर्देशक समाजले आगामी फागुन २३ गतेदेखि २८ गतेसम्म प्रदेश न. १ का १४  जिल्लाका चलचित्र निर्माणसँग इच्छा राख्ने नयाँ प्रतिभाहरुको लागि आधारभुत चलचित्र निर्माण प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम सञ्चालन हुने भएको हो ।

धरानको हरियाली सामुदायिक बनको भवनमा प्रशिक्षण कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने बताइएको छ । धरानबाहिरका प्रशिक्षार्थीहरुलाई आवासको समेत सुविधा कार्यक्रम अवधिभर हुनेछ ।

आज धरानमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानले अहिलेसम्मकै ठूलो प्रशिक्षण कार्यक्रम हुन गइरहेको जिकिर गर्दै पूर्वका १४ जिल्लाभरिका चलचित्र निर्माणसँग इच्छा राख्ने् नयाँ प्रतिभाका लागि प्रशिक्षण कार्यक्रम हुन गइरहेको जानकारी दिए ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले ६ दिने प्रशिक्षण कार्यक्रममा करिब १४ लाख रुपैयाँ खर्च हुने दाबीसमेत गरेका छन् । नेपालको पूर्वी क्षेत्र चलचित्र हब भएको जिकिर गरेका उनले ६० प्रतिशत चलचित्रकर्मीहरु पूर्वी क्षेत्रबाटै प्रतिनिधित्व भइरहेको दाबी गरे । पूर्वका १४ जिल्लाबाट प्रशिक्षण कार्यक्रममा बढीमा ६० जनाले सहभागिता जनाउन सक्नेछन् भने सहभागीले २ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । 

प्रशिक्षण कार्यक्रममा भोलाराज सापकोटाले अभिनय र सम्पापदन रक्षा सिंह राणा,क्यामरा पुरुषोत्तम प्रधानले क्यामेराका विषयमा तालिम दिनेछन् । यसैगरी लेखन,निर्देशन र प्रडक्सन भने नीर शाह ,युवराज लामालगायतले प्रशिक्षण दिइने बताइएको छ । 

यसैबीच आधारभूत चलचित्र निर्माण प्रशिक्षणमा सर्वोत्कृष्ट एकजनालाई चलचित्र निर्माणसम्बन्धी १ वर्षे कोर्समा निःशुल्क छात्रवृत्ति दिइने पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका सीइओ रोनिश राउतले बताए । प्रशिक्षण कार्यक्रममा सहभागीलाई १ वर्षे कोर्समा ५० प्रतिशत छुटमा १ वर्षे कोर्सको छात्रवृत्ति पनि दिइने उनको भनाइ छ ।  

नेपाल चलचित्रकर्मी महासंघ ,प्रदेश १को आयोजना र नेपाल चलचित्र निर्देशक समाजको संयोजन अनि चलचित्र विकास बोर्डको सहकार्यमा आधारभूत चलचित्र निर्माण प्रशिक्षण हुने बताइएको छ ।

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।