नुवाकोट।अनलाइन सेक्युरिटीज प्रालि(स्टक ब्रोकर नम्बर ४९)ले नुवाकोटमा लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
अनलाइन सेक्युरिटीज प्रालिको व्यवसायिक सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित नुवाकोट शाखाको सक्रियतामा सुरक्षित लगानीका उपाय विषयमा हिजो शुक्रबार लगानीकर्ता शिक्षा कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीको उपस्थिति थियो।उनले यस किसिमको कार्यक्रमले लगानीकर्तालाई हल्लाको भरमा नभई बुझेर लगानी गरी आफ्नो लगानी सुरक्षित गर्न टेवा पुर्याउने कुरा जिकिर गरे।
यसैगरी पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिल देव खनालले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सेयर बजारमा आबद्ध गराउन यस खालको कार्यक्रम आयोजना गरेकोमा अनलाइन सेक्युरीटीजको प्रशंसा गरे । जिल्ला सहकारी संघ नुवाकोटका सचिव प्रकाश अधिकारीले बुझेर लगानी गर्न सबैमा आग्रह गरे ।
लगानीकर्ता शिक्षा कार्यक्रममा अनलाइन सेक्युरिटीजका कारोबार अधिकृत विजय प्रसाद लामिछानेले कसरी लगानी सुरक्षित गर्ने भन्ने विषयमा कार्यपत्र पेश गरेका थिए । उक्त कार्यक्रममा उठेका प्रश्नको जवाफअनलाइन सेक्युरिटीजका अध्यक्ष दिनेश शर्मा बिडारीले जवाफ दिएका थिए । उनले पनि बुझेर मात्र लगानी गर्न र हल्लाको पछि नलाग्न सचेत गराए । अध्ययन गरी लगानी गर्न उनले आग्रहसमेत गरे ।
लगानीकर्ता शिक्षा कार्यक्रममा विभिन्न क्षेत्रका ६३ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम नुवाकोट बट्टार बजारको होटल स्क्वायरमा आयोजना गरिएको थियो।

लगानीकर्ता शिक्षा कार्यक्रम आगामी चैत १९ गते बर्दिबास र चैत २१ गते धरानमा आयोजना हुन गइरहेको अनलाइन सेक्युरिटीजका अध्यक्ष दिनेश शर्मा बिडारीले जानकारी दिए ।