काठमाण्डौ । भेट्रान लगानीकर्ता अम्बिका पौडेलको फेसबुक स्टाटसले आज सामाजिक सञ्जाल निकै तातेको छ । उनीद्वारा लेखिएको स्टाटसले भने सेयर बजारमा सुसाइड गोल भइरहेको भित्री रहस्य खुलासा भएको छ ।
उद्योग वाणिज्य महासंघ पूँजी फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका अम्बिका प्रसाद पौडेलले दिउँसो फेसबुकमा एक स्टाटस लेखेपछि अधिकांश लगानीकर्ताले गालीको वर्षा गरे । उनले लेखेका छन्,“छिमेकीको पक्की घरमा बिजुली सर्ट गराई आगो लगाउदा आफ्नो खरको घर बिर्सनु भयो महोदय, आगोले खरको घरलाई बल्ल समात्न लागेको छ। अब गुहार गरेर केही हुनेवाला छैन ।"
एक वर्षयता नेप्से परिसूचक ३ हजार विन्दू तल नै घुमिरहेको छ । परिसूचक २ हजार ९०० विन्दू पार गर्ने कयौँ पटकको प्रयाससमेत विफल भइसकेको छ । पछिल्लो समय नेप्से २ हजार विन्दूबाट ओर्लिएर २ हजार ५०० विन्दू छोएर पुनः उकालो लाग्दा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(एनटीसी) ले बजार थेगेको थियो । अर्थात् बजारको यात्रा ओरालो भएतापनि एनटीसीको सेयरमूल्य भने उकालो लागिरहेको थियो ।
तत्कालीन सयममा बजारको एक्लो बृहस्पतिझैँ बनेको एनटीसीका सञ्चालकसमेत रहेका पौडेलकै सक्रियतामा पहिलो पटक २० प्रतिशत बोनस सेयर लाभांश(नगद २० प्रतिशतसहित कुल ४० प्रतिशत लाभांश) प्रस्ताव गरी आइसब्रेक गरे । तर बजारका कतिपय लगानीकर्ताहरुले पौडेललाई मात्रै एनटीसी होल्डरको संज्ञा दिए । यो वास्तविकता भने अलिक पृथक बन्यो । बोनस सेयर घोषणा गरेको एनटीसीविरुद्ध बजारका कतिपय चर्चित पात्रहरुले समेत खरिद नगर्न सुझाउँदै उर्दी नै जारी गरे । तर वास्तविकता भने नेप्सेमा सूचीकृत भएको एनटीसीको फेयरमूल्य रु.२ हजार माथि नै हुनुपर्ने जानकारहरु बताउँछन् । बजारमा कारोबारमा आएका अन्य कम्पनीसँग दाँज्दा आकर्षक नेटवर्थ र रिजर्भ रहेको एनटीसीको सेयरमूल्य हालको बजारमूल्यले न्याय नगर्ने जानकारहरु जिकिर गर्छन् ।
तीन दशकभन्दा बढी समय बिताएका र मुख्य पेशा नै सेयर बजार बनाएका अम्बिका पौडेल धैर्यवान् र विवेकी लगानीकर्ताका रुपमा चिनिन्छन् । यद्यपि बजारमा कहिलेकाहीँ विवादमा पनि मुछिने उनै पौडेलद्वारा आज लेखिएको शब्दहरुले भने बजारको पछिल्लो अवस्था बारे स्पष्ट बोलेको थियो ।
केही समयअघि बजारमा राम्रा समाचार आउँदा नेप्से परिसूचक उकालो लाग्दथ्यो तर पछिल्लो समय राम्रा समाचार आउँदा भने बजारले ओरालो यात्रा तय गर्दै आइरहेको देखिन्छ । स्थानीय निकायको चुनाव ,संसदबाट एमसीसी अनुमोदन र भर्खरै बीमा समितिद्वारा बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने विषयले बजारको सकारात्मक माहौल तताउन सकेन ।
अर्थबिट स्रोतका अनुसार पछिल्लो समयमा एकले अर्कोलाई सिध्याउने र बजारलाई भड्खालोमा हाल्नतर्फ उन्मुख भइरहेको बताएको छ । बजारमा एक अर्को समूहको खुलेर विरोध गर्ने गर्दा सुसाइड गोल हान्न नै उद्दत भइरहेको स्रोत जिकिर गर्छ । सोही कुरालाई इंकित गदै पौडेलले एकले अर्काेलाई सिध्याउने खेलमै बजारले सुसाइड गोल गर्ने दाबी गरेका थिए । छिमेकीका घरमा आगो लगाउँदा आफ्नो घरमा पनि आगोले समात्ने र बजारमा डढेलो लाग्दा सबै समाप्त हुनसक्ने उनको संकेत रहेको स्रोत जिकिर गर्छ ।
ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाल,स्टक ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज र पौडेल समूह बजारमा देखिएका मुख्य पात्रहरु हुन् । यिनीहरुको होल्डिङ फरकफरक रहेका छन् तर ती विभिन्न समूहका होल्डिङ भएका कम्पनीहरुको सेयरमूल्य बढ्ने भएमा भने खुलेरै सामाजिक सञ्जालमा अवरोध र उग्र विरोधमा खरो उत्रिएको देखिन्छ । यसरी नै एकअर्काले होल्डिङ गरेका कम्पनीविरुद्ध बक्तव्यवाजी र वाकयुद्धमा उत्रिएपछि आज आक्रोशित भई पौडेलले स्टाटस लेखेको स्रोत दाबी गर्छ ।