तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो

RSS २०७८-१२-१९ ०४:३२:०० बजे

काठमाण्डौ।काठमाण्डौ उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् ।  इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए । इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो । ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले-पहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार/पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरुमा प्रहरी टोली नै खटाउनु परेको जानकारी दिनुभयो । अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन् । कतिपय त ग्यालिनसमेत बोकेर पम्पमा आएका देखिए ।

दैनिक रुपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ थियो । नेपाली प्रहरीको नक्साल, नेपाली सेनाको भद्रकाली, सशस्त्र प्रहरीको हलचोकको पम्पलगायत उपत्यकाका सबैजसोमा तेल लिन सर्वसाधारणको ठूलो भिड छ ।शनिबार बन्द हुने पम्पमा समेत आज लामो लाइन छ । शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ । कतिपय पम्पहरुले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् । शुक्रबार मात्रै इन्डियन आयल कर्पाेरेशनले पनि इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो । आयल निगमका अनुसार ग्यास प्रतिसिलिन्डर रु २७३ ले र मट्टितेल प्रतिलिटर रु २२ ले बढेको छ भने पेट्रोल प्रतिलिटर रु १.४८ ले घटेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।