काठमाण्डौ।धितोपत्र दोस्रो बजारमा सेयर खरिदबिक्रीको तथ्यांक सीमित हातमा पर्न सफल भएको छ । सीमित व्यक्तिले बजार चलाउँदै आएको आरोप लाग्ने नेपाली सेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज भने निरीह र मूकदर्शक बनेको छ ।
सेयर बजार सूचना तथ्यांकको बजार हो जहाँ तथ्यांकले धेरै कुराको सूचना दिइरहेको हुन्छ । सोही तथ्यांक भने सर्वसाधारण लगानीकर्ताहरुलाई लुकाएर नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सीमित व्यक्तिको पहुँचमा पुर्याएको हो । नेप्सेको पुरानो वेबसाइटबाट आजका दिनमा पनि यसअघि नै एपीआई लिएका संस्था र व्यक्तिहरुले नियमित कारोबार हुने समयमा तथ्यांक सहजै पाइरहेका छन् । तथ्यांक बिक्री निर्वाध गर्ने ती संस्थाहरुलाई भने हाल नेप्सेको नेतृत्व सम्हालेका सीइओ कृष्ण बहादुर कार्की र सेबोनका अध्यक्ष रमेश कुमार हमालले समेत भरपूर सहयोग गरिरहेको नेप्सेस्थित एक अधिकारीले खुलासा गरे । यस विषयमा अर्थबिटले बुझ्ने प्रयास गर्दा दुवै सम्पर्कमा आएनन् ।
नेपाल स्टक एक्सचेञ्जका एक अधिकारीले नेप्सेलाई परिबन्दमा पारी अहिले पनि निःशुल्क एपीआई लिइरहेको खुलासा गरे । तथ्यांकमा सबैको समान पहुँच गर्नुपर्नेमा सीमितलाई पोस्ने काम भइरहेकोमा उनी आक्रोशित बने । “बन्द गर्दा सबैलाई बन्द गरिनुपर्छ तर सर्वसाधारणलाई तथ्यांक लुकाएर नेप्सेको एपीआई सीमित संस्था तथा व्यक्तिले प्रयोग गर्दा न्याय नभएको उनले जिकिरसमेत गरे ।
नेप्सेस्थित अर्थबिट स्रोतका अनुसार नेप्सेले नयाँ वेबसाइट बनाइसकेको अवस्थामा हाल पुरानो वेबसाइटबाट यसअघि नेप्से अनलाइन कारोबार प्रणालीको एपीआई पुरानो बेबसाइटबाट सीमित व्यक्ति तथा संस्थाले प्रयोग गरिरहेका छन् । पहुँच र निःशुल्क प्रयोग गरिरहेकाहरुलाई बन्देज गर्न पुरानो वेबसाइट बन्द गर्दासमेत नेप्सेमाथि जाइ लाग्दै आएको स्रोत दाबी गर्दछ ।
केही ४–५ ओटा निजी संस्थाहरुले नेप्सेको एपीआई निःशुल्क प्रयोग गरेपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत नेप्सेको वेबसाइटबाट तथ्यांक स्क्र्यापिङ्ग गरिरहेको जसका कारणसमेत नेप्सेको अनलाइन प्रणालीमा ठूलो लोड पर्न गई टीएमएस सञ्चालनमा अवरोध सिर्जना भई समस्या सिर्जना हुने स्रोतहरु बताउँछन् ।
यता नेप्सेले करिब डेढ वर्षअघि नै एपीआई पोलिसी बनाएर नेप्सेको तथ्यांक तथा एपीआईमा समान वितरण गर्ने प्रयासमाथि पनि नेपाल धितोपत्र बोर्डले हालसम्म स्वीकृत नगरेको स्रोत बताउँदछ । नेप्सेको एपीआई आवश्यक पर्ने सबैलाई समान वितरण गर्न सशुल्क गर्ने योजनामाथि भने नेपाल धितोपत्र बोर्ड नै बाधक भइरहेको स्रोत जिकिर गर्दछ । यद्यपि बोर्डले आगामी जेठभित्र नेप्सेको एपीआई पोलिसी स्वीकृत गर्ने बताइएको छ ।
गत चैत मसान्तमा नियामक नेपाल धितोपत्र बोर्डले कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरेको थियो । अघिल्लो साताबाट भने नियमित कारोबार समयमा कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रकाशित भइरहेको छैन ।